तुलसीपुर ५ बैशाख
रोटरी क्लब अफ तुलसीपुर सिटिले तुलसीपुरका यातायात मजदुरहरुलाई एचआईभी एड्स सम्बन्धी एकदिने अभिमुखीकरण तालिम दिएको छ । नेपाल सि.आर.एस. कम्पनीको आर्थिक तथा प्राविधिक सहयोगमा जोखिममा रहेका समुहका लागि एचआईभी एड्स सम्बन्धी जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल सि.आर.एस. कम्पनीका क्षेत्रिय प्रबन्धक रमेश मल्लले सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । एड्स एचआईभी भाईरसले गर्दा शरीरमा उत्पन्न हुने एउटा लक्षण भएकोले यो यौन संक्रर्मित रोगबाट बच्नको लागि असुरक्षित यौन संपर्कबाट बच्नुपर्ने उहाँको सुझाव थियो । रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले संसारमै डर लाग्दो चुनौतीको रुपमा देखिएको एचआईभी एड्सकोको बारेमा अभिमुखीकरण तालिमबाट प्राप्त ज्ञानलाई आफ्ना ईष्ट मित्र र छर छिमेकमा पनि बाड्नको लागि सहभागिहरुलाई आग्रह गर्नुभएको थियो । तालिममा सहभागि यातायात मजदुरहरुलाई नेपाल प्रजनन स्याहार केन्द्रका प्रशिक्षक त्रिपुरारी विक्रम पोख्रेल र डाक्टर अमृत ढकालले प्रशिक्षण दिनुभएको थियो । रोटरी क्लब अफ तुलसीपुर सिटिका पूर्व अध्यक्ष बिजय केसीले सहजिकरण गरेको कार्यक्रममा यातायात मजदुरहरुको उत्साहजनक सहभागिता रहेको थियो ।