३ दिन भित्र सूचना अधिकारी तोक्न सार्वजनिक निकायलाई निर्देशन

दाङ,२८ माघ ।  जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले कुनै पनि सार्वजनिक निकायमा सूचना अधिकार नतोकेको भए ३ दिन भित्र सूचना अधिकारी तोकी जिम्मेवारी प्रदान गर्न कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । आज दाङको घाराहीमा भएको सूचनाको हक सम्बन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो । आफ्ना क्षेत्रहरुमा भएका काम तथा गतिविधिहरुको सहजै रुपमा सूचना पाउने नागरिकको हक भएको र सार्वजनिक निकायले नागरिकले माग गरेको सूचना उपलब्ध गराउनुपर्ने दायित्व रहेको बताउनु भयो ।

यस्तै प्रेस काउन्सिल नेपालका सदस्य सरद अधिकारीले सूचनाको हक पत्रकारका लागि मात्रै हो भन्ने बुझाई छ तर यो सबै नागरिकको हक भएको बताउनुभयो । सार्वजनिक निकायले नै सूचना दिन पाउँदा खुशी हुने ठाउँमा सूचना लुकाउँदा खुशी हुन्छन् किन ? भन्दै प्रश्न समेत गर्नुभयो । स्थानीय तहले हरेक तिन तिन महिनामा सार्वजनिक सुनुवाई गर्नु पर्ने हो तर दाङमा त्यसो हुन सकेको छैन,नागरिकहरु कार्यालयमा सूचना माग गर्न आउँदा डराउँदै आउनुपर्ने अवस्था छ, खुशी भएर आउन सक्ने वातावरण बनाउन सकिदैन ? उहाँले भन्नुभयो ।


यस्तै राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्र्मान गुरुङले लोकतान्त्रिक पद्धति महत्वपूर्ण छ,नागरिकलाई सहभागीता गराउनु पर्दछ,नागरिकले सार्वजनिक निकायले गर्ने कामहरुको बारेमा थाहा पाउनुपर्दछ भनेर सार्वजनिक सुनुवाई र जनसहभागीताले मात्रै नहुने बताउनुभयो । जनताले सार्वजनिक निकायका गतिविधिबारे जानकारी पाउने माध्यम भनेकै सूचनाको हक भएकाले नागरिकको अर्थपूर्ण सहभागीता हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“संविधानको मौलिक हकको रुपमा रहेको सूचनाको हक सहजै पाउनु पर्ने नागरिकको अधिकार भएकाले सूचना अधिकारीले दिनुपर्ने हुन्छ, यदि सूचना अधिकारीबाट कुनै त्रुटि भएमा त्यसको जिम्मेवार कार्यालय प्रमुख नै हुने भएकाले सूचना प्रदान गर्ने पहिलो दायित्व कार्यालय प्रमुख कै हुन्छ” ।

यस्तै प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले पनि सार्वजनिक निकायका सूचना अधिकारीहरु त्यति जानकार नभएको बताउनुभयो । प्रविधिको प्रयोगलाई धेरै प्रयोग गर्न सके र त्यसैमा आफ्ना गतिविधिहरु निष्पक्ष,सरल भाषा शैलीमा दैनिक अप्डेट गर्न थाले नागरिहकरुलाई सहभागी नै गराउनुपर्ने आवश्यक नहुने बताउनुभयो । कार्यक्रममा जिल्ला स्थित कार्यालय प्रमुख,सूचना अधिकारी, संचारकर्मी एवम् सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० माघ २८ गते आइतवार
प्रतिक्रिया