काठमाण्डौं,२८ चैत ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मन्त्रालयको ५ बर्षका लागि १० बुँदे मार्गचित्र सार्वजनिक गर्नुभएको छ । मन्त्री पोखरेलले आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको पुर्नगठन गर्ने तथा आयोगको सिफारिसको आधारमा समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माण गर्न संघीय व्यवस्था अनुकुल शिक्षा नीति लागू गर्ने मार्गचित्र सार्वजनिक गर्नुभएको हो ।
यस्तै पुरानो शिक्षा प्रणाली खारेज गरी नयाँ वैज्ञानिक शिक्षा लागू गर्ने, कक्षा १ देखि १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने, हरेक प्रदेशमा १–१ वटा मातृभाषी विद्यालय सञ्चालनमा ल्याइने १० बुँदे मार्गचित्रमा उल्लेख छ । यस्तै शिक्षालाई गुणस्तर बनाउन शिक्षकको दरबन्दी बढाउने, सार्वजनिक पदमा रहेकाका सन्तानलाई सामूदायिक विद्यालयमा भर्ना गर्न प्रेरित गर्ने, सबै विद्यालयमा उच्च गतिको इन्टरनेट विस्तार गर्न पहल गर्ने, समयमै शिक्षकको हातमा पाठ्यक्रम र विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउने पनि मार्गचित्रमा उल्लेख छ ।
यस्तै नीजि विद्यालयमा १० विद्यार्थी बराबर एक गरिव तथा विद्यार्थीलाई अध्यापन गर्ने व्यवस्था गरिने पनि उल्लेख छ । यसैगरी २ वर्षभित्र साक्षर नेपाल घोषणा गरिने पनि मन्त्री पोखरेलले सार्वजनिक गरेको मार्गचित्रमा उल्लेख छ ।