घोराही, २६ चैत्र
घोराही उपमहानगरपालिका वडा नम्बर ४ को लक्ष्मीपुर हुदै तारकेनी सवारीकोट जस्पुर जोड्ने सडक निर्माण सम्पन्न भएको छ । वडा कार्यालयको चालु आर्थिक बर्षको बजेट २४ लाख रुपैयाँ र स्थानियहरुको श्रमदानबाट लक्ष्मीपुरको शिबमन्दीर देखी तारकेनी, सवारीकोट, जस्पुर सम्म मोटरबाटो निर्माण भएको हो । उक्त मोटरबाटोको सोमबार उपमहागरपालिकाका प्रमुख नरुलाल चौधरीले रिवन काटेर उद्घाटन गर्नुभएको छ । लक्ष्मीपुर तारकेनी सवारीकोट गोरक्ष मार्ग निर्माण उपभोक्ता निर्माण समितिका अध्यक्ष रविलाल घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
वडा कार्यालयको २४ लाख २० हजार ४ सय ७० रुपैयाँ बजेट विनियोजन भएकोमा कूल २६ लाख २ सय १८ रुपैयाँ खर्च भएको निर्माण समितिका अध्यक्ष घर्तीले जानकारी दिनुभयो । सडक निर्माणमा घोराही सिमेन्ट उद्योगले ३ लाख ५० हजार रुपैयाँ बराबरको स्काभेटर काममा लगाएर सहयोग गरेको समितिले जनाएको छ । कूल २९ लाख ५० हजार २ सय १८ रुपैयाँको लागतमा उक्त सडक निर्माण भएको अध्यक्ष घर्तीको भनाई रहेको छ । घरमै गाडी पुग्ने गरि सडक बनेपछि स्थानियहरुले नगर प्रमुख सहित वडा अध्यक्षहरु र सदस्यहरुलाई फूलमालाले स्वागत गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख चौधरीले विकासको आधार नै सडक भएको बताउनुभयो । कुनै पनि विकासका लागि सडक नै पहिलो आबस्यकता भएको भन्दै गाउँ गाउँमा सडक सञ्जाल पुगे मात्रै विकासले गति लिने बताउनुभयो । उपमहानगर भित्रै पनि बिकट र पछाडी परेको बस्तीहरु रहेको र ति बस्तीहरुमा आधारभुत आबस्यकताहरुलाई पुरा गर्न उपमहानगर प्रतिबद्ध रहेको समेत जानकारी दिनुभयो । वडा सदस्य लिला गोतामेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण वडा सदस्य भीमबहादुर कवर योगीले गर्नुभएको थियो ।