‘शहीदपुत्र’को उपचारका लागि सहयोग माग

 रोल्पा, २४ चैत । 

ब्लड क्यान्सरका कारण मृत्युसँग लडिरहेका माडी गाउँपालिका– ५ भाबाङ रोल्पाका २९ वर्षीय सन्तोष बुढा मगरको उपचारमा विभिन्न संघसंस्था, व्यक्ति र प्रवासी नेपालीबाट रु १८ लाख १७ हजार ५७७ संकलन भएको छ ।
शहीदपुत्र सन्तोष हाल उपचारका क्रममा भरतपुर क्यान्सर अस्पताल चितवनको शय्या नं ११० मा रहेको माडी गाउँपालिका–५ रोल्पाका वडाध्यक्ष भरतबहादुर बुढा मगरले जानकारी दिनुभयो ।

दशवर्षीय सशस्त्र युद्धका बेला विसं २०५८ पुस १२ गते सन्तोषका बुबा धनीरामको राज्यपक्षबाट रोल्पाको घर्ती गाउँमा हत्या भएको थियो । बुबाको हत्या हुँदा सन्तोष १२ वर्षको हुनुहुन्थ्यो । उहाँका घरमा ९२ वर्षीया हजुरआमा र ६२ वर्षीया आमा हुनुहुन्छ । उपचारका क्रममा चार वर्ष पहिले सन्तोषकी श्रीमतीको एउटा मिर्गाैला फालिएको छ ।

उहाँका एक मात्र छोरा विविध समस्याका कारण मामाघर सुर्खेत बस्दै आएका छन् । केही वर्ष पहिलेदेखि वैदेशिक रोजगारीमा पुगेका सन्तोष हातखुट्टा दुख्ने, ज्वरो आउने, कमजोरी महसुस हुने तथा व्यथाले दिनप्रतिदिन च्याप्दै लगेपछि करीव चार महिना अगाडि मात्र स्वदेश फर्की उपचार गराउँदा ब्लड क्यान्सर देखियो ।

सन्तोषको उपचारका लागि अझै केही थप खर्च लाग्ने भएको हुँदा उपचारार्थ सहयोग गर्न चाहने दाताले ग्लोबल बैंकको खाता नं ३३०९०१११५०२७२ मार्फत सहयोग गर्न सकिने वडाध्यक्ष मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७४ चैत्र २४ गते शनिवार
प्रतिक्रिया