घोराही, १९ चैत ।
जिल्ला शिक्षा कार्यालय दाङमा तालाबन्दी गरिएको छ । नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काको नेतृत्वमा जिल्लामा क्रियाशील सवै शिक्षक संघसंगठनले सोमबार जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । जिल्ला शिक्षा अधिकारीले लामो समयदेखिको सहमति र सहकार्य तोडी शिक्षक दरवन्दी मिलान कार्य अवरुद्ध गरेर जिल्लाको शैक्षिक क्षेत्र अस्तव्यस्त गरेको उनिहरुको आरोप छ ।
जिल्ला शिक्षा अधिकारी रमेश मैनालीका कारण शिक्षक सरुवा र नियुक्ति प्रक्रियामा समेत लामो समयदेखि अवरुद्ध गरेकाले दाङको शिक्षा क्षेत्र अस्तव्यस्त गरेको आरोप शिक्षक संघसंठनले लगाएका छन ।
दरबन्दी मिलानको सहमति कार्यान्वयन गराउन दबाब दिनकालागि आफूहरुले तालावन्दी गरेको नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष अमरबहादुर खड्काले जानकारी दिनुभयो । जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले भने आफूले नियमसंगत काम गर्दागर्दै पनि आफूमाथि आरोप लगाएर तालाबन्दी भएको बताउनुभयो ।