भारतले चीनसँग सीमा जाेडिएकाे उत्तरी क्षेत्रमा सैनिक संख्या र भौतिक पूर्वाधार विकासलाइ तीब्र पार्ने भएकाे छ। दोक्लाम विवादपछि चीनसँग सीमा जोडिएको क्षेत्रमा सैनिक उपस्थिति मजबुत बनाउन सैनिक संख्या र सुविधा थपिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यसै वर्षको शुरुमा भारतीय सेनाका प्रमुख विपिन रावतले पाकिस्तानी सीमाबाट चीनतर्फको सीमा ध्यान केन्द्रित गर्ने समयमा आएको बताएका थिए। उनले ‘भारतीय सेना साढे २ मोर्चाका लागि तयार रहेको’ बताएका थिए। बाह्य चुनौतीको रुपमा पाकिस्तान र चीन र आन्तरिक रुपमा स्लामिक अतिवादी र माओवादी विद्रोहको सामना गर्न सेना तयार रहेको उनले बताए।
टाइम्स अफ डन्डियाले पश्चिमको लद्दाखदेखि पूर्वको अरुणाञ्चल प्रदेशसम्म भारतले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई बढाउँदै लगेको जनाएको छ।
अरुणाञ्चल प्रदेशको सुरक्षामा मात्रै चार डिभिजन तैनाथ र २ डिभिजन रिजर्भ राखिएको जनाएको छ। एउटा डिभिजनमा १२ हजार सैनिक हुन्छन्। त्यसैगरी पूर्वी कमाण्ड अन्तर्गतको यस क्षेत्रको सामरिक केन्द्रहरुमा तीन वटा सैनिक अस्तापल २ वर्षभित्र निर्माण गर्ने गरी काम शुरु भएको द हिन्दुस्तान टाइम्सले जनाएको छ। चीनले अरुणाञ्चल प्रदेशलाई आफ्नो भूभाग मान्छ। चीनले त्यसलाई दक्षिण तिब्बत भन्दै आएको छ।
भारतले सन् २०२० सम्ममा परमाणु बोक्न सक्ने युद्धक विमानहरु तैनाथ गर्ने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।
भुटान, भारत र चीनको त्रिदेशीय विन्दु दोक्लममा भारत र चीनको सैनिक आमने सामने भएको घटनापछि भारतले सैन्य सुविधा बढाएको हो। सात महिनाअघि ७३ दिनसम्म भएको विवादपछि वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा सैनिक र सुविधाहरु थपेको जनाएको छ। चीन र भारतबीच स्पष्ट सीमांकान छैन। भारत र चीनबीचको ४ हजार ५७ किमी सीमा जोडिएको छ। भारत र चीनले सीमा विवाद समाधानका लागि सन् २००५ देखि पटक-पटक वार्ता गरे पनि त्यसले अन्तिम रुप प्राप्त गरेको छैन।
भारतीय सैनिकले कठिन भौगोलिक अवस्थिति रहेको एलएसी क्षेत्रमा २८ देखि ३० दिनसम्मको लामो दुरीको पेट्रोलिङ शुरु गरेको छ। भारतले यस क्षेत्रमा टि ७२ ट्याङ्कको तैनाथीको संख्या समेत बढाउने भएको छ। त्यसैगरी चीनसँग सीमा जोडिएको लद्दाखबाट पूर्व र सिक्किममा २ सय ९० किमीको मारक क्षमता भएको सुपर सेनिक ब्राम्होस क्षेप्यास्त्र र बोफोर्स तोप अरुणाञ्चल प्रदेशमा तैनाथ गर्ने भएको छ। उत्तर पूर्वी भारतमा अहिले सुखोइ युद्धक विमान मात्रै रहेको समयमा भारतले परमाणु बोक्न सक्ने राफेल बिमान पनि तैथान गर्ने बताइएको हो।
मार्च महिनाको शुरुमा भारतकी रक्षामन्त्री निर्मला सिथारमणले दोक्लम क्षेत्र नजिकै चीनले हेलिप्याड, सैनिकहरुका लागि सेन्ट्री पोस्ट र ट्रेन्चहरु निर्माण गरिएको संसदलाई जानकारी गराएकी थिइन्। चीनले पनि सो क्षेत्रमा सैनिकको संख्या निकै बढाएको समाचारहरु आएका छन्।
यसअघि जनवरी महिनामा भारतीय सेनाका प्रमुख विपिन रावतले पाकिस्तानको सीमामा ध्यान चीनतर्फको सीमा केन्द्रीत गर्नु पर्ने समय आएको उल्लेख गरेका थिए। यसले पनि भारतका लागि चीनसँगको सीमा सुरक्षा गम्भीर बन्दै गएको देखाउँछ।
भारत र चीनबीच सन् १९६२ मा छोटो तर निकै घातक युद्ध लडेकाको इतिहास छ। त्यो समयमा भारत नराम्रोसँग पराजित भएको थियो। दुवै देशका विशेष प्रतिनिधिहरुले बिसौं चरणमा वार्ता गरे पनि समस्या समाधान भएको छैन। भारत र चीनबीच १९९३, १९९६, २००५ र २०१३ मा भएको सम्झौताहरुले दुवै पक्षले एकले अर्का भूभागमा अतिक्रमण नगर्ने गरी शान्ति बनाइराखेका छन्।
चीनसँगको युद्ध लगत्तै पाकिस्तानसँग भारतले युद्ध गरेको थियो। भारतले पाकिस्तानसँग भने चार वटा युद्ध लडिसकेको छ। पछिल्लो समयमा उनीहरुको सैनिक गतिविधि र योजनाहरु पाकिस्तान केन्द्रित रहँदै आएको थियो।नेपालखबर