सभामुख महराद्वारा खड्कालाई श्रद्धाञ्जली

काठमान्डौ १८ चैत्र
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । आज बिहान ११ बजे सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख महराले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोकपुस्तिकामा पनि हस्ताक्षर गर्नुभएको छ ।
श्रद्धाञ्जलीपछि परिवारजनसँग कुरा गर्दै सभामुख महराले पछिल्लो पटक एक महिनाअघि मात्रै खड्कासँग भेट भएको बताउनुभयो । केही समययता खड्कासँग नियमित भेटघाट र कुराकानी भएको उल्लेख गर्दै महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताउनुभयो ।
खड्काकी श्रीमती, छोरी र आफन्तजनलाई सम्हालिन आग्रह गर्दै सभामुख महराले आत्मबल बलियो बनाउनुको विकल्प नभएको बताउनुभयो ।  श्रद्धाञ्जली दिन निवास पुगेका कांग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पु¥याउन आग्रहसमेत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार
प्रतिक्रिया