पुलको निर्माण सामग्री चोरी गर्ने फरार, करिब १० लाख बराबरको सामग्री बरामद

ओपेन्द्र बस्नेत ,तुलसीपुर, १६ चैत्र ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले ठूलो परिमाणमा निर्माण सामग्री बरामद गरेको छ । तुलसीपुर ११ बैबाङ र सुकौरामा लुकाई राखेको अवस्थामा पुलको निर्माण सामग्री बरामद गरेको प्रहरीले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका ११ सुकौरा स्थित पातुखोलामा निर्माधिन पुलको निर्माण सामग्री हराउन थालेपछि निर्माण कम्पनीको उजुरीका आधारमा प्रहरीले गाउँमा छापा मारेको थियो ।

छापा मार्ने क्रममा सोही पुलमा काम गर्दै आएका श्रमीक ठाकुर प्रसाद चौधरीको बैबाङ र ट्रयाक्टर चालक शम्सेर चौंधरीले सुकौरा स्थित घरमा लुकाई राखेको अवस्थामा निर्माण सामग्री फेला परेको हो । आरोपी दुबै जना फरार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

‘दश चक्के ट्रकको एक ट्रक भन्दा बढी सामान छ’– प्रनाउ सापकोटाले भने,–‘सुरु देखि नै चार्दै घरमा लग्दै राख्दै गरेछन् ।’ आरोपीको खोजीकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

हिम सगरमाथा प्रालीले पातुखोलामा १२ करोड लागतमा १९, चैत्र २०७२ देखि पुलको निर्माण कार्य सुरु गरेको हो । निर्माण कम्पनीका सुपरभाईजर टिकाराम भुसालले दिएको जाहेरीमा ठूलो परिमाणमा छड्, जि.आई पाईप, वाटर प्रुफ प्लाई उड, ठेलागाडा, जाली, फल्याक लगाएतका निर्माण सामग्री हराएको उल्लेख छ । सामान धेरै पहिलो देखि नै हराएको भएपनि निर्माण कम्पनीका सुपरभाईजर भुसालले फागुन अन्तिममा थाहा पाएपछि मात्रै चैत्र १ गते प्रहरीको सहयोगमा गाउँमा छापा मारिएको थियो ।

‘सामान हराएको अलिअलि संका लागेको थियो, सुपरभाईजर भुसालले भने,‘ एक गते त ठेला गाडा नै हराएपछि प्रहरीलाई खबर गरेर डिएसपी सावको नेतृत्वमा गाउँमा छापा हानेपछि निर्माण सामग्री भेटियो ।’ यति ठूलो परिमाणमा निर्माण समाग्री भेटिएपछि स्वयम भुसाल समेत चकित भएका छन् । भुसालले बरामद गरिएको सामानको मुल्य मोटामोटी करिब १० लाख मुल्यको भएको बताएका छन् ।

प्रहरीले गाउँमा छापा मारेपछि पुल छेउछाउँका स्थानीयले पनि फाट्फुटु मात्रामा लगेका पाईप, सरीया घर देखि टाढा फालेको निर्माण कम्पनीले बताएको छ । ७५ अषाढ मसान्त सम्म निर्माण कार्य पुरा गरी सक्नु पर्ने पुलको लम्बाई एक सय ५० र चौडाई ११ मिटर रहेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया