महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औँ जन्मजयन्ती 

२६,कात्र्तिक काठमाण्डौ – महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

उहाँले नेपाली साहित्यलाई सयभन्दा धेरै कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनुभयो । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।

नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ । देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया