बन्धक बनाएर सामूहिक बलात्कार गर्ने चार जना पक्राउ

एउटी हतास, निरास र आक्रोशित आमाको जाहेरीमा लेखिएको छ, ‘मेरी अवोध नावालिग मानसिक अपाङ्ग छोरीको सामुहिक बलात्कार भयो। दोषीउपर कारवाही गरी पाउँ।’

फागुन २८ मा उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा कारवाही माग गर्दै निवेदन दिएकी थिइन्। उनको उजुरीमा भनिएको छ, ‘फागुन १७ देखि २७ सम्म दश दिन उनीहरुले मेरी छोरीलाई कहाँ लगे पत्तो छैन। अहिले मेरी छोरी बरबर्राउछे। केटा मान्छे देख्दा तर्सिन्छे, डराउछे। ऊ पढनमा अब्बल हो। उसको मानसिक अपाङ्गताले उसलाई अघि बढन रोकेको थिएन। यो घटनाले उसको विकास नै रोकिने भो, न्याय पाउँ।’

आमाको निवेदन पढेपछि परिसरका प्रमुख विश्वराज पोखरेलसहितका अनुसन्धान अधिकारीले सुरुवातमा घटनालाइ केलाए। पीडितलाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाए। अनुसन्धान शाखाका डिएसपी मोहन थापा र प्रहरी निरीक्षक रामकुमार राईको टोली थप अनुसन्धान जुट्यो।

प्रहरीलाई यतिबेलासम्म जम्मा दुईवटा तथ्य थाहा थियो। एक, पीडितको बलात्कार भएको छ। दुइ, पीडित बल्खुबाट फागुन १७ मा सार्वजनिक बस चढेकी हुन्। यी दुई आधारमा आरोपीसम्म पुग्नसक्ने अनुसन्धान अधिकारीले अति न्यून सम्भावना देखे। निवेदनको तेस्रो दिन पीडितलाई परिसरमा बोलाइयो। पीडितसँग डिएसपी थापा र राईले घटनाका विषयमा सोध्नपुछ गरे।

पीडितले सबै घटना बेलि विस्तार लगाइन्। कसरी पीडकसम्म पुग्ने भनिरहेका अनुसन्धान अधिकृतलाई आरोपीसम्म उनैले पुर्याइन्। प्रहरीले उनको आत्मविश्वासमा आफ्नो विश्वास मिलाएर आरोपी खोज्ने अभियानमा जुट्यो। पीडित किशोरीले सुरुमा आफू कहाँबाट गाडी चढेको र कहाँ लगिएको त्यहाँसम्म अनुसन्धान अधिकारीलाई बाटो देखाएरै लगिन्।

उनलाई घटनाको साँझ बसुन्धरामा रहेको एउटा ग्यारेजमा लगिएको रहेछ। ग्यारेजमा बा ४ ख ३८४१ नम्बरको बसका चालक सन्तोष घिमिरे र सह–चालक दिवस गड्तौलाले पहिलो पटक करणी गरेका रहेछन। फागुन १८ को साँझ पीडितलाई सन्तोष घिमिरेले ललितपुर हरिसिद्दीस्थित कोठामा लगेर बन्धक बनाएका रहेछन्। ‘पीडितले बताएअनुसार बाटो पहिल्याउँदै जाँदा हामी घटना भएका सबै स्थानमा पुग्यौं’, डिएसपी थापाले नेपालखबरसँग भने। प्रहरी निरीक्षक रामकुमार राईको कमाण्डमा टोली पीडितलाई लिएर आरोपी खोज्न हिँडेको थियो।

उनका अनुसार घिमिरेले हरिसिद्धिमा रहेको आफ्नो कोठमा ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेका थिए। उनले पीडितलाई कोठाबाट शौचालयसम्म जान नदिई बलात्कार गरेको बरामद सामाग्रीले पुष्टि गरेको छ। प्रहरीले घिमिरेको कोठाबाट महिलाले प्रयोग गर्ने गर्भनिरोधक औषधीको खोल, दुई बोतल पिसाव र कन्डमहरु समेत बरामद गरेको छ।

फागुन २४ मा पीडित किशोरी घिमिरेको कोठाबाट भागेकी थिइन्। तर उनलाई बाटोमै भेटेका अर्को बसका सहचालक सुदिप बजागाइँले उद्दार गर्नुको साटो बलात्कार गरेका थिए। यस्तै फागुन २५ मा अर्काे बसका सहचालक दिवस गडतौलाले फेला पारी सन्तोष घिमिरेकै जिम्मा लगाएका थिए। सो दिन पनि घिमिरेले युवतीसँग कुर्कम गरेका थिए।

घिमिरेले फागुन २७ मा पीडितलाई सातदोवाटोबाट रिङरोड चल्ने बा.२ ख. ४१९५ नम्बरको गाडीमा बसाएर आफू उम्किएका थिए। सो बसका चालक भोला तामाङ र सह चालक चन्द्र सापकोटा समेत मिलेर दिनभर गाडीमा घुमाएर बेलुका स्वयम्भुमा रहेको ग्यारेजमा लगी बलात्कार गरेका थिए।

फागुन २८ मा पीडितको स्वास्थ्य बिग्रिएपछि दुबैले गर्भनिरोधक औषधी र साढे दुईसय रुपैयाँ थमाएर स्वयम्भुमा अलपत्र छाडेका थिए। छोरी हराएपछि फागुन १७ मै आमाले दिएको खोजतलासको निवेदनका आधारमा पीडित किशोरीको पहिचान भएपछि उनलाई आमाको जिम्मा लगाइएको थियो। तर अर्को दिन छोरीको अवस्था बुझेपछि आमा भौतारिदै परिसरमा न्याय माग्न पुगेकी थिइन्।

‘हामीले पीडितको बौद्धिकता र साहस देखेपछि केही दिन अघि बितेका विश्व प्रशिद्ध वैज्ञानिक स्टेफन हकिङलाई सम्झियौं, तीनवटै घटनास्थल र ब्यक्तिको पहिचान उनैले गरेकी हुन,’ डिएसपी थापाले नेपालखबरसँग भने। उनकाअनुसार प्रहरीले शंकाका आधारमा ल्याएका ब्यक्तिहरु मध्येबाट पीडित आफैँले आरोपीको पहिचान गरेकी थिइन्।

परिसरले घटनामा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएर जर्वजस्र्ती करणी र अपहरण तथा शरीर बन्धक ऐनअनुसार कारवाही अघि बढाएको छ। परिसरले घटनाका आरोपीहरु भोला तामाङ, चन्द्रबहादुर सापकोटा, सन्तोष घिमिरे, दिवस गड्तौला र सुदिप बजगाइँलाई हिरासतमा लिएर अनुसन्धान तथा कारवाही थालेको हो। नेपालखबर

प्रकाशित मिति : २०७४ चैत्र ८ गते बिहिवार
प्रतिक्रिया