दाङ, ६ चैत ।
प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले जरुरी महत्वका कानुनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताएका छन् । दाङको घोराही उपमहानगरपालिकाले आज मंगलबार आफ्नै कार्यकक्षमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सभामुख महराले वैज्ञानिक ढंगको कानुन निर्माणमा आफु जिम्मेवार रहेको बताए ।
स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानुनहरु निर्माणमा प्राथमिकता दिने गरी काम गर्दै यो बर्षलाई नयाँ कानुनको अभ्यासका रुपमा लिने र बैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानुनहरु निर्माणमा केन्द्रीत हुने महराको भनाइ थियो ।
सभामुख महराले दङाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने बताए । फेरिएको जिम्मेवारीसँगै सभामुखको हैसियतले अब आफू साझा व्यक्तित्व भएको भन्दै उनले व्यवहारबाटै साझा व्यक्तित्व देखाउने बताए । सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्ब घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न आफूले निरन्तर पहल गरिरहेको बताए ।
समग्र दाङको बिकासमा आफुले गरेका प्रतिबद्धताहरु पूरा गर्नका लागि निरन्तर पहल गरिरहेको भन्दै उनले विकास निर्माणका जरुरी आवश्यकताहरुलाई प्राथमिकताका आधारमा एकीकृत गरेर स्थानीय तहबाट योजनाहरु थप गरेर ल्याउन आग्रह गरे । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए ।