सभामुख कृष्णबहादुर महरासँग युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको टोलीले भेट वार्ता गरेको छ । आज (सोमबार) सभामुखको कार्यालय सिंहदरबारमा इयू निर्वाचन पर्यवेक्षण मिसन प्रमुख तथा युरोपियन पार्लियामेन्टका सदस्य जेलजना जोभ्को श्भविबलब शयखपय नेतृत्वको टोलीले भेटवार्ता गरेको हो ।
भेटमा टोलीले सभामुख महरालाई गत मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रतिवेदन बुझाएको थियो ।
सो अवसरमा सभामुख महराले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई पर्यवेक्षण गरी सहयोग गरेकोमा इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
जस्तोसुकै परिस्थितिमा पनि नेपालले निर्वाचनलाई स्वच्छ र मर्यादित रुपमा सम्पन्न गरेर नयाँ संविधान बनाउन सफल रहेको भन्दै उहाँले पछिल्लो चुनावले नयाँ संविधान कार्यान्वयनको यात्रा अघि बढाएको बताउनुभयो । सो अवसरमा बोल्दै निर्वाचन पर्यवेक्षण मिसनका प्रमुख जेलजना जोभ्कोले सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।
उहाँले निर्वाचनको समग्र अनुगमन गरी २९ बुँदे सुझाव पनि पेश गरेको बुझाउनुभयो । उहाँले नेपालले इलेक्ट्रिकल भोटिङ सिस्टमको शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।
जोभ्कोका अनुसार भोलि नै युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले पत्रकार भेटघाट गरी प्रतिवेदन सार्वजनिक गर्ने बताउनुभयो ।
भेटवार्तामा संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो ।