
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रमुखमा वरिष्ठ फिजिसियन डा. पदम राज अधिकारीले भदौ १० गतेदेखि जिम्मेवारी पाउनु भएको छ । अस्पतालमा समस्याका चाङहरु पनि छन् । ती चाङहरुलाई पन्छाउँदै अस्पतालाई थप व्यवस्थित पनि गर्नु छ । अस्पतालको वर्तमान अवस्था र चुनौतिका विषयमा रहेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेण्ट डा. पदमराज अधिकारीसंग गरिएको कुराकानी
– यहाँलाई स्वागत छ ।
धन्यवाद ! ओपेन्द्र जी
– राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको वर्तमान अवस्था के छ ?
अब यो हाम्रो राप्ती प्रादेशिक अस्पताल प्राथमिक उपचारबाट स्तरोन्नति हुदै आएर अहिले ५० वेडको राप्ती प्रादेशिक अस्पताल बनेको छ । यो ५० बेडको अस्पताल भएपनि सेवा चापले गर्दा १ सय ५० बेडको सेवा देइरहेका छौं । हाम्रो ६३ जना सरकारी दरबन्दी भएपनि करार छात्रवृति गरेर १ सय ५० कर्मचारीहरूले सेवा दिरहेका छन् । र दिनानुदिन बिरामीको चाप बढिरहेकाले सेवा दिन कठिन भएपनि हामीले आफ्नो सक्दो तर्फबाट सेवाहरू प्रवाह गरिरहेका छौं ।
– पछिल्लो समय प्रादेशिक अस्पतालबाट कस्ता खालका सेवाहरू दिइराख्नुभएको छ ?
अहिले हामीले दिइरहेका सेवाहरूमा सम्पूर्ण समावेश भएका छन् । हामीले २४ सै घण्टा चिकित्सक सहितको आकस्मिक सेवाहरू दिएका छौं । विभिन्न रोगका ओपिडी सेवाहरू जस्तैः जनरल मेडिसिन, सर्जरी, हाडजोर्नी, डर्माटोलोजी अथवा छाला रोग, मानसिक रोग, नाक कान घाटी, प्रसुती तथा महिला रोग आदी ओपीडी सेवाहरू दिराखेका छौं भने अन्य आन्तरिक सेवाका साथै जर्नल भर्ना, एचडियु जुन आइसीयु भन्दा अलिकति एक स्टेप मुनीको हाइटोपेन्डीट युकिप भन्छ त्यो सेवा, बच्चाहरूको एनआईसीयू सेवा पनि सुरु भएको छ । डाइलाइसिस सेवाहरु सुरु भएको छ । ल्याब एक्सरे चाही २४ सै घण्टा छ । सिटिस्क्यान २४ सै घण्टा छ । भिडियो एक्सरे सेवा छ । विभिन्न खोप सेवाहरू प्रदान भइरहेको छ । यी सेवाहरू हामीले नियमित रुपमा दिरहेका छौं ।
– अस्पतालमा भएका जनशक्ति र उपकरणलाई अधिकतम रुपमा प्रयोग गर्नका लागी के योजना बनाई राख्नुभएको छ ?
यसमा अब हजुरले सोध्नुभए अनुसार जनशक्तिको त अधिकतम उपयोग भएको छ । अब हामी ५० बेडको सेवा दिने जनशक्तिले १ सय ५० बेडको सेवा सञ्चालन गरेका छौं । सय देखी दुईसय सम्म ओपीडीमा सेवा दिने जनशक्तिले अहिले पाँच सय भन्दा धरै बिरामीलाई सेवा दिँदाखेरि यसमा जनशक्तिको अधिकतम उपयोग भएको छ । यसले गर्दा जनशक्तिलाई बढि कार्य बोज भएको पनि अवस्था छ । त्यसकारणले गर्दा जनसक्तिलाई यो भन्दा बढि काम लगाउन सक्ने अवस्था छैन । खाली जनसक्तिलाई विभागहरुमा कसरी समायोजन गर्ने, कुन विभाग अथवा उपयुक्त ठाउँमा राख्ने लगाएतका गरिरहेको कामलाई अझ चुस्त दुरुस्त बनाउनका लागी उहाँहरूलाई सल्लाह दिनुपर्ने कुरा त छदै छ । उपयोग पनि पुर्ण रुपमा भएकै छ । र यहाँले उपकरणहरू भन्नुभयो यो त समस्या नै छ । यो देश भरिको समस्या हो । कति उपकरणहरू अस्पतालले नचाहदा नचाहादै अथवा जनसक्ति व्यवस्थापन नहुँदा नुहुँदै पहिल्यै आएका पनि छन । कति प्रयोग भइरहेका उपकरणहरू बिग्रेर जादै छ ।
अहिले अस्पतालमा उपकरण बनाउने अन्य कुनै प्राविधिक सम्बन्धी कर्मचारीहरू नभएकोले दरबन्दीमै नभएको करारमा पनि नभएको संरचना नै त्यस्तो भएकोले बिग्रेका उपकरणहरू बनाउन निकै जटिल समस्या छ । हामीले केन्द्रमा नै गुहार्नुपर्छ प्रदेशमै पुर्याउनुपर्छ । निवेदन लेखेर फोन गरेर बोलाएपछि आउनुहुन्छ र बेलाबेला मर्मत गरिदिनु हुन्छ । यो उपकरण मर्मतमा समस्या छ । र अब यतै हल हुने भन्ने अवधारणा त आएको छ अब नयाँ अस्पतालको कन्सेप्टमा अहिलेसम्म हामीले एउटा सानो सामान बिग्रियो भने बनाउन अलिकति समस्यै छ । प्रदेश अथवा केन्द्रबाट बोलाउनुपर्छ यो टेक्निसियन बायोटेक्निकल इन्जिनियर भन्ने अहिले हामीसँग राख्न नसकेकाले समस्या छ । यो पनि पहिलेको तुलनामा अहिले प्रदेशबाटै आउने भएको हुनाले सजिलो चाही भएको छ ।
–राप्ती प्रादेशिक अस्पताल रिफर सेन्टरको नामले परिचित छ । यसमा यहाको भनाई के छ ? अब यसमा केही गुनासाहरू त सत्य पनि होलान् । अब केही रिफर गर्नुपर्ने जस्तैः अस्पतालका लेवलहरु हुन्छन् । प्राइमरी लेवल, सेकेन्डरी लेवल, टर्सरी लेवल, त्यसपछि आएर अति विशिष्टीकृत लेवल भन्ने हुन्छन् । अब हाम्रो अस्पताल प्राइमरीबाट सेकेन्डरीमा पर्छ । सेकेन्डरीको लेवलले सबै केसहरू हेर्न सक्ने क्षमता हुदैन् । केही मात्रामा रिफर गर्नैपर्ने हुन्छ । रोगको प्रकृति हेरेर अब हाम्रोमा हामीले हिसाब निकाल्दाखेरी अधिकतम ५ प्रतिशत बिरामी रिफर गरिएको देखिएको छ भने ९५ प्रतिशत बिरामीलाई हाम्रै अस्पतालमा उपचार गरेर घर पठाएको अवस्था छ । अब तपाइले भनेको जस्तो रिफर भन्ने अहिले फेमस छ । तर, यो रिफर पनि उपचारको एउटा राम्रो उपचार हो । नसकिने रोगहरुको पनि यही राखेर बिरामीको ज्यान जोखिममा राखेर उपचार गर्नु बेठिक हो । एउटा त रिफर गर्ने कारण अस्पतालको क्षमता अनुसार हो । त्यो आधारमा रिफर हुने भयो । अर्को चाहि अलिकति स्वास्थ्यकर्मीको जोखिम बहन गर्न सक्ने क्षमता कम छ । सुरक्षाको चुनौतीहरू छ । त्यसपछि अरु स्रोत साधनको अलिकति चुनौती हुन्छ । त्यसमा अब बिरामीलाई केही तलमाथि भयो भने सुरक्षाको चुनौती छ । त्यसकारणले जोखिम बहन जति गर्यो त्यती कहिले कँही सक्सेस पनि भइन्छ । तर, अहिले जोखिम बहन गर्न सक्ने क्षमता अलिकति ह्रास भएकोले पनि रिफर हुन सक्छ । त्यसमा चिकित्सकको आफ्नो दक्षतामा पनि भर पर्छ । त्यही विषयमा त्यही चिकित्सकले अलिकति केही एक्स्ट्रा गर्न सक्छ भने अरुको अलिकति कम हुन्छ । त्यसकारणले रिफर आफैमा नराम्रो भएन । तर, अनावश्यक रिफरहरु गर्न भएन । हुदा हुदा अहिले त के आएको छ बन्दाखेरी बिमाको बिरामीहरू सामान्य सुगर प्रेसरका बिरामीहरू रिफर लेखाएर जाने चलन आइसक्यो काठमाडौँतिर । त्यसले गर्दाखेरी रिफरल अलिकति बढेको पाइन्छ ।
– अब एक महिना अगाडि सुरक्षित सुत्केरीका सेवाका लागि प्रादेशिक अस्पतालमा पुगेकी महिलालाई नर्सले उहाँलाई यहाँ हुदैन बाहिर लैजानुस् भन्नुभयो । त्यसपछि मैले तपाईँलाई फोन गरे तपाइले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बाहेक अरुले रिफर गर्न मिल्दै भन्नुभयो । अनि मैले गाइनेको डाक्टरलाई फोन गरे उहाँले मैले हेरेकै छैन बिरामीलाई भन्नुभयो । त्यसपछि उहाँ आएर हेर्दाखेरी व्यथा राम्रो गरि लागेको छ । यही हुन्छ भन्नुभयो त्यसपछि ती किशोरी त्यही सुत्केरी हुनुभयो । यस्तो मनलाग्दी गर्न पाइन्छ ?
कर्मचारी ठुलोसानो भन्ने छैन संस्थामा सामान्य एउटा टिकट काट्ने देखी लिएर सबैको समायोजनमा सेवा हुने हो । बाहिरै टिकट काट्नेले नै थाहा नपाएर यो छैन भनिदिए भने डाक्टरले सेवा दिएन भन्ने पर्छ । अथवा अरु सिस्टरहरुले पनि जानी नजानी यो सेवा छैन यो हुदैन होला भनेर पनि हुन सक्छ । कहिले काँही चिकित्सकबाट पनि हुन्छ । तर यसको सुधारका लागि मैले हरदम प्रयास गरिरहेको छु । तपाईँहरूको पनि साथ सहयोग चाहिन्छ । पुरै गुनासाहरू आउँदैनन् त भन्दैन तर जनताको गुनासालाई घटाउन एकदम लाग्ने छु ।
– अब यसको लागी त तपाईँहरू अलि चलाख हुनुपर्याे बुझ्नुपर्यो, त्यो खालको एउटा सूक्ष्म अध्ययन गर्नुपर्यो, हेरफेर गर्नुपर्यो, कहाँ कुन शाखामा के काम भइरहेको छ भनेर बुझ्नुपर्यो, नागरिकबाट फिडब्याक लिनुपर्यो हैन र ?
तपाई पत्रकारहरूले पनि बेलाबेलामा फिडब्याक दिइराख्नुभएको छ । बिरामीहरूले पनि प्रत्यक्ष भेटेर फिडब्याक दिनुहुन्छ । अनि हामीले पनि बेलाबेला कहाँ के घटना घट्यो भनेर प्रत्येक कर्मचारीहरूलाई सम्बन्धित फाँटमा गएर सरसल्लाह दिइराखेका छौं । त्यहीअनुसार सुधारका नतिजाहरू पनि आइरहेका छन ।
–अब एउटा नागरिक सल्यान र रोल्पाबाट बिहान ५ बजे गाडीमा चढ्छ १० बजेसम्म अस्पतालमा आइपुग्छ । अनि नाम लेखाउँछ र चेक गर्छ । डाक्टरले एक्सरे गर्ने होकि अन्य कुनै ल्याब टेस्ट गर्नुपर्ने होकि त्यो लेख्दिनु हुन्छ अनि त्यो जान्छ । अनि त्यो रिपाेर्ट आएपछि लिएर फेरि डाक्टर कहाँ आउँछ तर, कोठामा डाक्टर भेटिनुहुन्न पंखा मजाले घुमिराखेको हुन्छ । अनि यता उता भौँतारिए हुक्क भएर सुस्केरा हाल्दै बिरामी फर्केर जानुपर्ने अवस्था आउँछ । किन यस्तो हुन्छ ?
यस्तो छ सर तपाइले भनेको कुरामा केही सत्यता पनि छ । र यो स्वभाविक पनि देखिन्छ । अहिलेको हाम्रो अवस्था र जनशक्ति हेर्ने हो भने २ सय जति बिरामी आउनुभयो भने सबै बिरामीहरूलाई जाँचेर त्यो रिर्पाेट आएर त्यहीदिनै घर पठाउन सकिन्छ । तर, अहिले बिरामीको चाप ५/६ सयको हाराहारीमा छ । अब यसमा बिरामीको चाप बढ्नुमा प्रादेशिक अस्पताल यस क्षेत्रको ठुलो अस्पताल भएर पनी हो, अर्को चाही बिमा कार्यक्रम पनी थप्या छ, बिमामा २ सय बिरामी आउने ठाउँमा अब एकैचोटी ५ सय विरामी आउनुहुन्छ । अब ५ सय बिरामी आएपछि टिकट काट्ने ठाउँमा अरु ३ सय बिरामी थपिए पछि टिकट व्यवस्थापनमा जनशक्तिको हिसाब छैन । त्यस्तै अब त्यो ३ सय अन्य बिरामी जाँच्नलाई चिकित्सकको थप व्यवस्था छैन । ल्याबमा थप व्यवस्था छैन । त्यसपछि बिरामीको अधिक चाप भएपछि अस्पताल आएका सबै बिरामीको त्यहीदिन टुङ्गो लाग्ने भन्ने हुन्न । जति जनशक्ति आयो त्यति नै काम पनि गरिसक्ने संस्था कुनैपनि छैनन् नेपालमा र हामी पनि सक्दैनौ । र बिरामी आइसक्यो भने ३ बजेभित्र आइसकेको रिर्पाेटहरुको लागी कुनैपनि समस्या छैन । चिकित्सकहरू भेटिनुहुन्छ ।
– यसको मतलब डाक्टरहरू बिहान १० बजेदेखि ३ बजेसम्म त्यही भेटिनुहुन्छ हैन त ?
त्यही भेटिनुहुन्छ ।
– त्यो भन्दा बाहिर भेट्यो भने ?
बाहिर भेट्यो भने हामीले पनि सचेत गराउने, कारबाही गर्ने हो । नागरिकले पनि सचेत गराउने हो । अब कहिले कँही त काम सकिएन भने ४-५ बजेसम्म पनि काम सकेर जानुपर्ने हुन्छ । र २ बजे काम सक्यो भने कोठामा आराम गर्ने भित्र वार्ड हुन्छ त्यहाँ बस्ने त्यो पनि हुन्छ । अहिले केहो भन्दाखेरी त्यत्रो बिरामी आएपछि सबैको एक बजे जाँच गरेको छ भने ल्याबमा ४ सय वटा रिपोर्ट हुन्छ त्यो त आँउदैन भोलि नै आउने हो । अन्य काठमाडौँतिर बिरामीको संख्या तोकिएको हुन्छ । एउटा डाक्टरले ३० जना बिरामी हेर्ने हुन्छ । त्यही रिर्पोट पनि ठुलो अस्पतालहरूमा आँउदैन । फर्सी तपाइको फलोअपमा रिपोर्ट देखाउने हुन्छ । हामीले त ३ बजेसम्म ५ सय बिरामी आएपनि रिपाेर्ट हेरेको छौं । ३ बजेसम्म नआएको रिपोर्ट भोलिपल्ट आएर देखाउन सक्नुहुन्छ । अन्य ठूला अस्पतालमा जस्तो २/३ दिन कुर्नुपर्ने अवस्था छैन । त्यसकारणले बुझ्न पर्ने कुरा केहो भने बिरामीले आफूलाई अस्पतालमा एक्लै आएको सम्झनुहुन्छ । तर, त्यहाँ ५ सय बिरामी पनि छन भन्ने सोच्नुपर्छ । अब यतिकाबेर लाइन बस्नुपर्ने भयो भन्नुहुन्छ । अब ५ सय बिरामी हुन्छ । लाइन नबसेर के गर्ने ? त्यसको सोलुसन त कसैले दिनसक्नु पर्यो । ५ सय बिरामीको रिपाेर्ट एकैपटक आँउदैन त्यसको पनि उपाय दिनुपर्यो । कतिकुरा हामीले बुझाउनुपर्ने हुन्छ । अहिलेकाही हाम्रो गुणस्तरिय भएन भन्ने कुरामा मैले हाम्रो मन्त्रालयमा अथवा गोष्ठीहरूमा पनि भन्छु । अब बिरामीको चाप यती छ । त्यसलाई दुईवटा तीनवटा चिकित्सकले कसरी गर्ने ? अब ५० जनालाई जाच्ने मेरो शक्ति हो तपाईंहरू जानुस् भन्ने अवस्था पनि छैन । सय दुईसय आएपनि हेर्नै पर्यो । त्यसकारणले जनशक्तिको व्यवस्थापन नहुदाँ सम्म कति भिडभाड हुने, एकैदिनमा सबैकाम नसकिने अवस्था छ भने कुनै रोगको भोलिपल्ट पर्सिपल्ट रिपाेर्ट आउने पनि हुन्छ ।
– डिउटीको समयमा क्लिनिकमा कुनै बिरामी आयो भने डक्टरहरु मोटरसाइकलमा हुँइकी हाल्छन् । उता गएर चेकजाँच गर्दागर्दै यताफेरी बिरामीकाे लाइन बढ्छ ?
यसमा तपाइले भनेको जस्तो मैले त देखेको छैन । अफिस टाइममा बाहिर क्लिनिक गएर हेर्न पाइदैन । भित्रै हेर्ने हो । अब अफिस टाइममा त्यस्तो कोही लुकिछिपी जानुभएको छ भने त्यो हामीले पनि जानकारी पाउनुपर्छ र तपाईँहरूले पनि ठाउँका ठाउँ सचेत गराउनुपर्छ । अब बिहान बेलुका त हामीले भन्न सक्ने कुरा भएन ।
-भनेको एउटा डाक्टर बिहान १० बजे हाजिर भएर बेलुका ३ बजेसम्म बस्नुहुन्छ, हैन त ?
बसेर मज्जाले चेजाँच गर्नु भएकाे छ ।
– दायाँबायाँ हुन्न हैन त ?
दायाँबायाँ हुदैन अब बिरामी नभएको बेला त्यही टेबुलमा बसिरहने भन्नी त हुदैन भित्र बस्नुहुन्छ । सेवा अवरुद्ध भएको हुदैन । कुनैकुनै रिर्पाेट छ भने एउटा डाक्टरले हेरिदिनुहुन्छ । त्यसकारणले ३ बजेसम्म रिपाेर्टहरु देखाउनलाई कुनै समस्या छैन । बिरामी सकिएपछि ओपीडीमा बसिरहनु हुदैन अफिसमा बस्नुहुन्छ ।
– अब अर्को के समस्या छ भने प्रादेशिक अस्पतालमा गएका बिरामीलाई त्यहीका स्वास्थ्यकर्मीले बाहिर औषधी किन्न पठाउँछन । त्यही भित्रै साझा र प्रादेशिक अस्पतालको आफ्नै फार्मेसी पनि छ । त्यहाँ किन्दाखेरी नागरिकलाई सस्तो पनि पर्छ अब यस्तो खालको समस्यालाई कसरी हल गर्न सकिन्छ होला ?
त्यस्तो त गर्न पाइदै पाइदैन । कसैले गरेको छ भने त्यो सजायको भागिदार हुनुपर्छ । बिरामीले औषधि चाहि अस्पताल भित्रै किन्नुपर्छ सुविधा हुन्छ सस्तो पर्छ भनेर नै खोलेको हो । कहिलेकाँही त्यहाँ अधिक भिड हुनाले कोही चिनेकोमा अवथा उधारोको लागी पनि बाहिरबाट लिनुहुन्छ होला । तर, अस्पतालका कर्मचारीले बाहिर गएर औषधि किनाउन चाही पाइदैन ।
– त्यस्तो भयो भने तपाई कारवाही गर्नुहन्छ हैन त ?
कारवाही हुन्छ ।
– जिम्मेवारीमा बसेका सबैले कारबाही गर्छौ त भन्नुभयो तर अहिले सम्म कोही पनि एउटा कारबाहीमा परेको छैन ?
कारवाही भन्ने कुरा यस्तो हुन्छ । आफूले देख्नु प¥यो नि ।
– रङ्गेहात पक्राउ पर्नुपर्यो हैन त ?
अब रङ्गेहात भेटिए पनि अस्पताल प्रमुखले गर्ने कारबाही भनेको सचेत गराउने हो । अबदेखि यस्तो नगर्नु भन्ने नै हो । अब कसैलाई निलम्बन गर्ने, जागिरबाट हटाउने भन्ने कुरा अस्पताल प्रमुखको हातमा हुँदैन ।
–अब तपाई भदौको १० गते मेसुको जिम्मेवारी पाउनुभयो । अस्पतालको प्रमुख हुनुभयो । अब तपाइको योजना होलानी मैले अब यो अस्पताललाई यस्तो बनाउँछु जहाँ हरेक नागरिकले यहीबाट उपचार पाउन् । कुनै गुनासो नआओस भन्ने खालको होलानी योजना ?
योजनाहरू यस्तो हुन्छ सर । अस्पतालले सेवा डेलिभरी गर्ने संस्था हो । योजनाहरु बनाउने प्रदेश मन्त्रालयले हो । यहाँ योजना खासै बन्दैन । मुख्य ठूला योजनाहरू मन्त्रालयबाट आउने हो यहाँ कार्यान्वयन गर्ने हो । अब आइसियु खोल्ने भन्छन् नि आइसीयु खोल्ने योजना माथिबाट आउनुपर्छ । र त्यसको जनशक्ति र इक्युपमेन्ट आउनुपर्यो । त्यसपछि यहाँ आइसीयु सुरु हुन्छ । यहाँको भूमिका के हुन्छ भन्दाखेरि भएका कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयन गराउने र पहिले देखी गर्नुपर्ने कार्यक्रमहरू सुरु भएका छन । तिनलाई सुरु गर्ने हुन्छ । जस्तो तपाइले भनेको जस्तै आएका बिरामीहरूलाई सबैलाई कसरी सेवा दिएर प्रभावकारी बनाउने भन्ने नै हो । त्यसमा हामी लागिरहेका छौं । गेटबाट नाम बोलाउने देखी लिएर टिकेट काट्ने देखी लिएर काउन्टर देखी लिएर हैन अब अहिले डाक्टरको सेवा लिने भन्दा पनि अरु कुराकाे झमेला धेरै छ ।
डाक्टर कहाँ बिरामी पुग्नुहुन्छ त्यहाँ ५ मिनेटमा जाँच हुन्छ औषधिहरू लेखिन्छ । जानुहुन्छ । तर, डाक्टर कहाँ पुग्नलाई नै महासागर छ । पुगेपनि पछि रिपाेर्ट ल्याउन महासागर छ । यसको मतलब टेबुलमा बसेर जुन डाक्टरी सेवा भन्दा अरु व्यवस्थापकीय कामहरू सजिलो किसिमले टिकट काट्ने कुराहरू, भिडभाड, हैन अब भिड त धेरै मान्छे आएपछि हुने नै भयो । तर, पनि त्यसलाई कसरी सहज गर्न सकिन्छ । त्यसपछी कहा जाने भनेर कुन विभागमा जाने भनेर सहजीकरण गर्ने कर्मचारीहरूको बन्दोबस्त छैन ।
त्यसपछि डाक्टरलाई भेटिसकेपछि प्रयोगशाला कहाँ छ । त्यहाँपनि सहजीकरण गर्ने यी यस्ता कामहरूमा हामी धेरै पछाडि छौं र प्लानीङ गर्दाखेरी पनि एउटा स्वास्थ्यकर्मीलाई राखिदियो चलिहाल्छ भन्ने सोचले भएको हो । त्यसकारण डाक्टरले टेबुलमा बसेर दिने सेवा भन्दा पनि अरु बाटोघाटोमा झन्झटिलो भएका कारण वास्तममा डाक्टरी सेवा नराम्रो भएको जस्तो देखिन्छ । अरु सहजीकरण गर्ने धेरै ठाउँहरू छ । त्यो ठाउँ सुधार नभएसम्म जति ठुलो डाक्टर ल्याएर जति इमानदार डाक्टर त्यहाँ टेबुलमा बसेपनि बिरामीले उस्तै नै महसुस गर्छ । त्यसकारणले गर्दा हामीले अन्य व्यवस्थापकीय काममा बढि जोड दिएर त्यसलाई सुधार गर्ने योजना बगाईरहेका छौं ।
अस्पतालमा रेबिजको खोप र जीवनजल पाइँदैन के हो यस्तो ?
अब रेबिजको खोप रेगुलर पाउँछ । अस्ति पत्रकारले पनि सोध्नु भएको थियो । त्यहाँ तथ्याङ्क हेर्न जानुभयो भने यो वर्षमा दुईपटक मात्रै पाइएको छैन । रेबिजको भ्याक्सिन हामिले किन्ने पनि होइन । प्रदेश सरकारले पठाउने भ्याक्सिन हो । कहिले काँही उहाँहरूले नपाएपछि पाइदैन । अहिले त्यही भइराखेको छ । अस्ति दुईदिन चाही अवरुद्ध भयो । तर, लामो समयसम्म चाही अवरुद्ध भएको अवस्था छैन ।
– यस्तो समस्या कहिले काँही देखा मात्रे देखापर्छ पर्छ हैन त ?
वर्षमा एकदुई पटक देखा परिराखेको छ । भ्याक्सिन पनि अब हामीलाई ३ सय भाइल चाहिन्छ । अब अस्ती दुई दिन सक्यो आउदै आएन सक्यो भन्नुभयो । लिन पठाएको २ सय भाइल पाउनु पर्नेमा ८० भाइल लिएर आउनुभयो । एकदिनमा ३० भाइल २० भाइल सकिन्छ । अस्ति लिएको फेरी सकियो आज लिन जादै हुनुहन्छ । ३० भाइल लिनलाई फेरी बुटवल जानुपर्छ । अस्पताललाई आर्थिक भार परिराखेको छ ।
– भ्याक्सिन नसकिदै जानुहुन्छ कि सकिएपछि मात्रै ?
हैन नसकिदै जान्छौ । अब दुई दिनलाई बाँकी छ । ल्याउन मान्छे गएको छ । अब पाउने होकी नै त्यस्तो छ । भ्याक्सिनको अभाव भएर थोरथोरै पठाइदिने कहिले छैन भन्ने त्यस्तो छ । तर, त्यति धेरै असहज छैन । अब बिरामले एकदिन पाइएन भने ठूलो हल्ला हुन्छ ।
– हल्ला भनेको सुधारको लागी पनि होलाकी होइन ?
त्यसले फाइदा त गर्छ तर, कहिले काँही नकारात्मक सन्देश पनि धेरै जान सक्छ । अलिकति मिलाएर त्यसमा पनि भ्याक्सिन त दुईदिन पाइएन । तर वर्षदिनमा कति दिन दिन भ्याक्सिन पाइएन भनेर जोडेको भए अलिकति त्यसले सकारात्मक सन्देश पनि जाने थियो कि । सधैँभरि पाइँदैन की भन्ने किसिमको सन्देश जान्छ कहिले काही अलिकति मिलाएर सकारात्मक र नकारात्मक दुबै किसिमको सुझाव सहितको सन्देश जाने भयो भने अझ राम्रो हुन्छ ।
– अन्तिम मैले सोध्न छुटाएको र तपाईँलाई यो कुरा त भन्नै पाए हुन्थ्यो भन्ने केही लागेको छ ?
यस्तो छ अब गुनासाहरू धेरै छन । यसमा मैले पनि केही भन्नै पर्छ । हामी स्वास्थ्यकर्मी चिकित्सकहरू अटिराखेका छौं । कसरी काम गरेका छौं, कति खटेका छौं, कति गर्नुपर्ने हो, कति धेरै गरेका छौं भन्ने हाम्रो आफ्नै पिडा छ ।
जनताका पनि हामीले यो पाउनुपर्ने त्यो पाउनुपर्ने भन्ने किसिमका पीडा छन । यसमा चाही अब बुझ्नुपर्ने कुरा हामीले अधिकतम गरिराखेका छौं । हामीलाई अहिले कार्यबोझ धेरै छ । बिरामीहरू धेरै आउनुभएको छ । र अब खुसीको कुरा र सुधार हुने कुराहरूमा ५० बेडबाट २ सय बेडका लागि अस्पताल स्तरोन्नतिका लागि तयारी अन्तिम चरणमा पुगेको छ भनेर हामीलाई मन्त्रालयबाट जानकारी आएको छ । स्वास्थ्य मन्त्रालयबाट यो काम अगाडि बढि सक्यो रे । अर्थ मन्त्रालयमा फाइल पुगेको छ । अब अर्थमन्त्रालयबाट बजेट सुनिश्चिता भयो भने यो अस्पताल २ सय बेडमा स्तरोन्नति हुन्छ ।
– महत्वपूर्ण समय दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद !
हाम्रो अस्पतालको बारेमा केही जानकारी दिने अवसर दिएकोमा यहाँलाई पनि धन्यवाद !