अटोले धानेको लक्ष्मिको जीवन

सन्तोष अधिकारी, दाङ, ३ चैत । 
घोराही उप महानगरपालीका १८ की लक्ष्मी रानाले घोराही बजारमा अटो कुदाउदा सबै जना हाँस्थे । परिवार पाल्नका लागि दुईचार पैसाको जोहो गरेर किनेको अटो किन्दा उनी निकै खुशी थिईन् । परिवार पाल्नकालागि नुन, तेलको जोहो समेत अटो मार्फत टार्दै आएकी लक्ष्मीलाई सुरुमा निकै मुस्किल परेको बताउछिन् । हाम्रो समाजमा ड्राईभिङ पुरुषले गर्नेकाम महिलाले कसरी गर्न सक्ला भनेर गाउँले देखि बजार सम्मका दिदी बहिनीले उनलाई गिज्याए । तर लक्ष्मीले हिम्मत हारीनन् बरु अटो चलाउने कामलाई निरन्तरता दिदै आईन् ।
बजारमा पहिला अटो चलाउने उनी मात्रै हुँदा कुरा काट्नेहरुको कुनै कमि थिएन । बिस्तारै लक्ष्मिले अटो चलाउदा दुईचार पैसा आम्दानी हुनथाल्यो । आम्दानी राम्रो हुँदा लक्ष्मीलाई परिवार चलाउन केही सहज भयो । आम्दानीको श्रोत नभेट्दा लक्ष्मिले कहिले सिलाई कटाई त कहिले होटलमा समेत काम गरीन् । पछिल्लो समय फलफुल पसल गर्दै आएकी लक्ष्मीका लागि अहिले सुखका दिन आएको जस्तो अनुभव भएको बताउछिन् । आफै अटो किनेर चलाउन थाले संगै दुईचार पैसाका कमाउन थालेपछि निकै खुसी लागेको छ लक्ष्मिले भनिन् । “मनमा आट र साहस भए महिलाले जुन सुकै काम पनि गर्न सक्छिन् भन्ने उदाहरण मैले दिएको छु” उनले भनिन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर सगठंन इ रिक्सा कमिटी घोेराहीकी अध्यक्ष लक्ष्मी राना प्युठान स्वर्गद्वारी बाट बसाइसराई गरी घोराही आएकी हुन् । पहिले गरेका ब्यवसायवाट खासै आम्दानी नभएकोले अहिले अटो किनेर चलाउदै छु, यसबाट राम्रै आम्दानी भएको लक्ष्मिको भनाई छ । अटो चलाएर छ जनाको परिवार पालन पोषण गरीरहेको लक्ष्मिले बताईन् । हाम्रो समाजमा पुरुषले जति महिलाले काम गर्नैै सक्दैनन भनेर महिलालाई दिने ज्याला पनि पुरुषको भन्दा कम हुन्छ तर लक्ष्मी भन्छिन् यो पेशा पनि सजिलो छैन ।
महिला भएकै कारण अपहेलित ब्यबहार नबेहोरेको भएपनि महिला चालकलाइ धेरै नै चुनौतिहरु हुने उनले बताईन् । धरै महिलाहरुले नै त्यस्तो ब्यबहार गर्ने गरेको उनको भोगाई छ । महिलाले महिलाको बिश्वास नै गर्दैनन्, कतै पल्टाउछन कि भन्ने सोच हुदो रहेछ उनले भनिन् ।
छोटो समयमा नै अटो बाट राम्रो कमाई भएको उनको जीवन भोगाई छ । अटोको कमाई बाटै घोराहीमा सानो घर बनाइ सकेको लक्ष्मी वताउछिन् । पहिले जीवन गुजाराका लागि धेरै किसिमका व्यवसाय गर्दा पनि बचत गर्न नसकेकी लक्ष्मिले अटो चलाउन थाले देखी दैनिक १ हजार देखि १५ सय सम्म आम्दानी गरेको वताउछिन् । अहिलेको आम्दानीले घर व्यवहार चलाउन समेत सहज भएको लक्ष्मीले अनुभव सुनाईन् ।
छोरा छोरीको पढाइ खर्च समेत धान्दै आएको वताउँदै पछिल्लो समेत अटो व्यावसायीलाई तालिम समते प्रदान गर्दै आएकी छिन् । उनले हालसम्म १७ जना महिलालाइ तालीम दिएकी थिईन् भने अहिले उनीहरु सवैले अटो चलाउदै आएकाछन् ।
“सुरुमा अटो किन्न जादा अटो शो रुममा महिलालाई विश्वास नगरेर विक्रि गर्दैन भनेका थिए तर दोस्रो दिन श्रीमानलाई लिएर जादा किन्न पायँ” लक्ष्मिले भनिन् । अहिले उनका ३ वटा अटो सञ्चालनमा छन् । एउटा उनी आफै चलाउछिन् भने अरु दुईवटा दैनिक हजार रुपैयामा भाडामा दिएकी छिन् । अटो चलाउन थालेपछि श्रीमानमा आश्रित हुन नर्पर्ने अबस्था आएको लक्ष्मिको भनाई छ ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार
प्रतिक्रिया