सल्यानमा झन्डै १२ सय लिटर अवैध घरेलु मदिरा नष्ट

 

मिना बुढाथोकी ,सल्यान २ चैत ।
जिल्ला प्रहरी कार्यालय सल्यानले ठुलो परिणाममा अवैघ घरेलु मदिरा नष्ट गरेको छ । शारदा नगरपालिकाको खलंगा, बरला र मधाना विभिन्न घरहरुबाट घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपि भरत बहादुर विकले जानकारी दिए । प्रहरीले आज शुक्रबार दिउसो करिब १ हजार १ सय ६६ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । डिएसपि विकका अनुसार शारदा नगरपािलका का ३ वटा वडा बाट बरामद गरिएको २ सय ३६ लिटर घर पालुवा रक्सी, ९ सय ३० लीटर रक्सी बनाउन प्रयोग गरिने जाँड र २ किलो रक्सी बनाउन प्रयोग गरिने औषधी नष्ट गरिएको हो ।

’ मदिरा बनाउन पयोग गरिने बरामद गरिएको जाँडमा अखाद्य पदार्थ मिलाएको भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मदिरा उत्पादन गर्न प्रयोग गरिने जाँडमा सेम्पु, जुटको बोरी, प्रयोग गरि फलिएको प्याड,सालको जुठो टपरी लगायतका फोहोर वस्तु फेला परेको प्रहरी प्रमुख विकले बताए । अवैध घरेलु मदिरा उत्पादन, सेवन, विक्रि वितरणले समाजमा विभिन्न किसिमका अपराधहरु घटाउन उत्प्रेरित गर्ने भएको हुदा यसको रोकथाम तथा नियन्त्रणको लागी जिल्ला प्रहरी कार्यालय सल्यानवाट अवैध घरेलु मदिरा उत्पादन,सेवन, विक्रिवितरण नियन्त्रण अभियानको थालनि गरिएको डिएसपि विकले बताए ।

बरामद गरिएको मदिरा सहायक प्रमुख जिल्ला अधिकारी, डिएसपि, शारदा न.पा.का प्रमुख,आन्तरिक राजश्व कार्यालय तुल्सिपुर दाङका प्रमुख,कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका प्रमुख, पत्रकारहरुको रोहवरमा जिल्ला प्रहरी कार्यालय नजिकै नष्ट गरिएको छ । अवैध मदिरा उत्पादन तथा विक्रि वितरणमा रोक लगाउनका लागि जिल्लामा कोष तथा लेखा नियन्त्रकको संयोजकत्वमा अवैध मदिरा विक्री वितरण नियन्त्रण समिति गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डनले जानकारी दिए । अवैध मदिरा विक्री वितरण नियन्त्रण समितिमा जिल्ला प्रशासन कार्यालयको एक जना र जिल्ला प्रहरी कार्यालयको एक जना प्रतिनिधि रहेका छन् ।
म्याद नाघेका अखाद्य बस्तु जफतगरि नष्ट

सल्यानमा म्याद नाघेका अखाद्य बस्तुहरुको जफत गरि नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा गएको एक टोलीले आज जिल्लाको सदरमुकाम खलंगा बजारको अनुगमन गरेर म्याद नाघेका अखाद्य बस्तुहरुको जफत गरेर नष्ट गरेको हो । सामानहरुको जफत गर्दै सो टोलीले अखाद्य बस्तु बिक्री बितरण नगर्न आग्रह गरेको छ । अखाद्य बस्तुको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले यसको बिक्री बितरण नगर्न टोलीले आग्रह गरेको हो ।

अनुगमन टोलीले खलंगा बजार बाट सेन्चुरी खुर्सानी पाउडर ७ प्याकेट, पापड ७ पोका, भुजा ४ पोका, सेन्टर फ्रुट १४ डिब्बा, म्यांगो फ्रुटी १९ वटा जफत गरेर नष्ट गरेको छ । यस्तै बटर फ्लाई बिस्कुट ६ वटा, ललिपप १५ डिब्बा, करेन्ट मसला ९ प्याकेट र पाठक दालमोट ३१ प्योकेट नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी टंडनले बताए ।

सहाक प्रमुख जिल्ला अधिकारी टण्डनको नेतृत्वमा रहेको अनुगमन टोलीमा प्रहरी निरिक्षक प्रेम शंकर चौधरी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधि महेन्द्र बस्नेत, घरेलु तथा साना उद्योग बिकास समिती सल्यानका बिजय चन्द, शारदा नगरपालिका २ का वडा अध्यक्ष केशब सिंङ श्रेष्ठ लगाएतको सहभागिता रहेको थियोे ।

यसैबिच यहाँका स्थानियले जिल्ला प्रशासनको नेतृत्वमा बजारको अनुगमन गर्नु उपभोक्ताहरुको लागी राम्रो भएको बताउदैँ अनुगमन कार्यलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

 

 

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार
प्रतिक्रिया