डेढ अर्ब घोटालामा कांग्रेस नेतादेखि सिइओसम्म

डेढ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोपमा नेपाली कांगेसका नेतादेखि हाल चल्तीमा रहेको फाइनान्सका कार्यकारी अधिकृतसम्म पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नेपाल कर्मस एण्ड क्रेडिट बैंक (एनसीसी) मा शुक्रबार छापा सञ्चालक समिति सदस्यसहित १३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अधिकांश एनसीसीमा गाभिनु अघि एपेक्स बैंकको कार्यकारी पदमा रहेकाहरु छन्।

प्रहरीले एनसीसी बैंकको केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बसेको बोर्ड बैठकमा छापा मारेको थियो।

ब्युरोले एनसीसीमा गाभिनु अघि एपेक्समा भएको १ अर्ब ५० करोडभन्दा बढीको घोटालामा नेपाली कांग्रेसका युवा नेता विष्णुप्रसाद धिताल र सिनर्जी फाइनान्सका कार्यकारी अधिकृत विनितमणी उपाध्यायसहित १३ जनालाई पक्रेको हो। धिताल हाल एनसीसीको संचालक समिति सदस्य हुन्।

लमजुङका धिताल कांग्रेसका युवा नेता हुन। तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष रहेका धितालको कार्यकालमा बैंकमा घोटाला भएको हो। यस्तै हाल सिनर्जी बैंकका कार्यकारी अधिकृत रहेका उपाध्याय घोटालाका समय एपेक्सका सह–महाप्रबन्ध थिए।

‘एनसीसीसँग गाभिनुअघि एपेक्स विकास बैंकमा भएको घोटालाको अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं, बैकिङ कसुरमा म्याद थपेर अनुसन्धान भइरहेको छ,’ ब्युरोका डिआईजी पुष्कर कार्कीले नेपालखबरसँग भने। घोटाला प्रकरणको अनुसन्धानमा एनसीसी बैंकले सहयोग गरेको उनले बताए।

शुक्रबार पक्राउ परेका एनसीसी बैंकका बिराटनगर क्षेत्रिय प्रबन्धक रहेका ऋषिराज भट्ट तत्कालिन एपेक्स बैंकका निमित्त कार्यकारी अधिकृत थिए।

पक्राउ पर्नेहरुका तत्कालिन एपेक्सका सञ्चालक इच्छाबहादुर गुरुङ, सुवर्णराज भण्डारी र मधुवनलाल श्रेष्ठ छन्। पक्राउ पर्नेमा दुर्गादत्त जोशी वरिष्ठ प्रबन्धक, रामचन्द्र बसौला सह महाप्रबन्धक, विकास श्रेष्ठ शाखा प्रबन्धक, सागर न्यौपाने लोकन्थली शाखा प्रमुख, मानबहादुर राउत शाखा प्रबन्धक, मोहन खरेल कर्जा अधिकृत र सुदिप थापा शाखा प्रबन्धक घोटालाका समय एपेक्सको कार्यकारी पदमा थिए।

ब्युरोका डिएसपी श्याम ओलियाले तत्कालिन एपेक्स विकास बैंक मार्फत १ सय २८ जना ऋणीलाई मिलमतोमा नियम विपरित कर्जा प्रवाह भएको अनुसन्धानमा खुलेको बताए। एपेक्सबाट गैरकानुनी रुपमा ऋण लिनेमा कम्पनी, हाउजिङ र ब्यक्ति रहेका छन्।

‘बैंकिङ नियम विपरित घोटालाकै उद्देश्यले कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान भइरहेको छ,’ डिएसपी ओलियाले नेपालखबरसँग भने।

ब्युरोका अनुसार एपेक्सले धितोमा भिरालो पाखोबारी, बाटो नपुगेको जग्गाहरुको अधिक मूल्यांकन गरी कर्जा लगानी गरेको अनुसन्धानमा देखिएको छ। यस्तै कृत्रिम ऋणीहरु खडा गरी एवं ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गरेर समेत कर्जा प्रवाह भएको भेटिएको छ।

ब्युरोको अनुसन्धानमा एपेक्सले धितो निरीक्षण, कर्जा निर्णय, जग्गा किनबेच, रोक्का, कर्जा तमसुक र कर्जा प्रवाह समेत एकै दिन गरेर ऋण दिएको भेटिएको छ। कमसल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको समेत अनुसन्धानमा खुलेको छ।

कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको र साँवा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई समेत एपेक्सले कालो सूचीमा नराखी दाेहाेर्याएर कर्जा प्रवाह गरेको पाइएको छ।
शुक्रबार पक्राउ परेकाहरु १३ जनालाई नै ब्युरोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई थुनामा राख्ने प्रक्रिया चलाइरहेको छ।

नेपालखबरबाट

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार
प्रतिक्रिया