रोल्पामा ७१ वर्षको उमेरमा सम्बन्ध विच्छेद,के कारण सम्बन्ध विच्छेद भयो ?

रोल्पा, चैत १ ।
रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले बुधबार जिल्ला अदालत रोल्पाबाट सम्बन्ध विच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५, रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच बुधबार जिल्ला अदालत रोल्पाबाट सम्बन्ध विच्छेद भएको हो ।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्ध विच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं को देहाय २ बमोजिम सम्बन्ध विच्छेदको फैसला गरेको हो । वृद्धा वलीले अंश माना चामल दाबी नगरी शुद्ध सम्बन्धविच्छेद गर्नुभएको हो । हस्तमालीको राङ्कोट–४ कोरल निवासी स्व. दलसर रोकासँग यसअघि मागी विवाह भएको थियो ।

पहिलो श्रीमान् रोकाबाट हस्तमालीका सन्तान भएनन् । दुर्भाग्यवश रोकाको निधन भयो । यसरी एक्लो जीवन बिताउँदै आउनुभएकी हस्तमालीले ४८ वर्षको उमेरमा पञ्चबहादुर वलीसँग २०५१ सालमा आफूखुशी प्रेम विवाह गर्नुभएको थियो । विवाहपछि वली दम्पतीबाट एक छोरीको जन्म भएको र उहाँको पनि विवाह भइसकेको छ ।

जिल्ला अदालत रोल्पामा पीडितले दिएको निवेदन उजुरीअनुसार विवाहपछि दोस्रो श्रीमान् पञ्चबहादुरले आफूलाई अनावश्यक रुपमा गाली गर्ने, कुटपिट गर्ने, खान लगाउनमा अपहेलना गर्ने, कामधन्दामा मात्र लगाई श्रम शोषण गर्ने, शारीरिक एवं मानसिक रुपमा यातना दिने गरेको उल्लेख छ ।

कविता उपाध्याय 

प्रकाशित मिति : २०७४ चैत्र १ गते बिहिवार
प्रतिक्रिया