मुलुकको समृद्धिका लागि सत्ता र प्रतिपक्ष नहुने: ओली

काठमाण्डौं,२७ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई सबैको साझा भएको उहाँले बताउनुभयो । यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही हो, उहाँले भन्नुभयो ।

देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले ओलीले स्थिरता, स्थायित्व र शान्ति होस् भएमात्रै विकास गर्न सकिने उहाँले बताउनुभयो । लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।

संविधानबमोजिम एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आफू विश्वासको मत लिन उपस्थित भएको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्रीका लागि प्रधानमन्त्री नभएको जनताको सेवक बन्न प्रधानमन्त्री बनेको बताउनुभयो ।

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया