ओपेन्द्र बस्नेत , तुलसीपुर, २३ फागुन ।
यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरमा २० बर्ष नाघेका २ सय ५९ वटा पुराना सवारी साधन फेला परेका छन् । नेपाल सरकारले आगामी साउन एक गते देखि २० बर्ष पुराना सवारी साधन संचालनमा रोक लगाउने नीति अघि सारे पछि कार्यालयले यस्ता सवारीसाधनको लगत तयार पारेको हो । कार्यालयका लाइसेन्स फाँट प्रमुख शान्तराज गौतमका अनुसार २० बर्ष पुराना जिप,कार,भ्यान एक सय ६१ र बस,ट्रक,ट्रिप्पर ९८ वटा छन् ।
बस/ट्रक/ट्याक्टर मध्य निजी ५५ वटा र सरकारी (सेतो प्लेट) का ४३ वटा सवारीसाधन २० बर्ष पुराना छन । यी मध्य ९५ वटा सवारी साधनको लगत कट्टा भएको छ । त्यसैगरी जिप,कार,भ्यान अन्तर्गत ६४ वटा सवारी साधनको लगत कट्टा गरिएको छ । २०५४ साल सम्म यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरमा दर्ता भएका ६ सय ९२ वटा विभिन्न सावरी साधन मध्य २ सय ५९ ,२० बर्ष पुराना र लगत कट्टा भएका एक सय ९३ वटा सवारी साधनको तथ्याङ्क कार्यालयले संकलन गरेको हो ।
सवारी साधनमा हरियो स्टीकर टाँस गर्ने
यातायात व्यवस्था कार्यायलय राप्तीले वातावरण प्रदुशण मापनयन्त्र ल्याउन लागेको छ । वातावरण प्रर्दुशण रोक्न, सवारी दुर्घटना न्युनिकरण गर्न आगामी असाढ अन्तिम सातासम्म वातावरण प्रर्दुशन मापनयन्त्र ल्याउने कार्यालयले बताउको छ ।
यो यन्त्र ल्याए पछि सवारी साधनमा आगामी साउन एक गते देखि हरियो स्टीकर टाँस गरिने छ ।
मापन यन्त्रले सवारी साधनको हर्ष पावरमा ह्ररास आएको, इन्जीनमा खराबी भएको, डिजेल कम गर्ने मेसीनमा खराबी आएको सबै पत्ता लगाउने छ । चेकजाँच गर्ने क्रममा सवारीसाधनमा समस्या आएमा त्यस्तो सवारीसाधन, हरियो स्टीकर टाँस्नका लागि अयोग्य हुँदा संचालनका लागि समेत अुनमति पाउने छैन । चेकजाँचको समयमा पास हुने वारी साधनले मात्रै हरियो स्टीकर टाँस गर्न पाउने छन् ।
धेरै लामो समयसम्म पुराना सवारीसाधन संचालनमा आउँदा ब्रेक फेल हुने, स्टेरिङले काम नगर्ने, उकालोमा चढ्न नसक्ने हुँदा सवारी दुर्घटना बढ्ने र पुराना तथा थोत्रा सवारीसाधनले बढी धुवाँ फयाँक्ने भएकाले वातावरण प्रर्दूशन भई मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पुग्ने भएको विस्थापन र हरियो स्टीकरको अवधाराणा ल्याएको लाइेसेनस फाँट प्रमुख गौतमले बताए ।
उनका अनुसार आसाढ महिना सम्म २० बर्ष पुराना गाडिको संख्या अझै बढ्ने छ । कार्यालयमा हाल सम्म दर्ता भएका सवारी साधनको संख्या साना ठूला गरि साढे १५ हजार पुगेको छ ।