२०८३ बैशाख १८ गते शुक्रवार

बल्खुमा डोजर: काठमाडौंका विभिन्न अनाधिकृत बस्ती हटाउने अभियान तीव्र

काठमाण्डौ १८ बैशाख

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अनधिकृत रूपमा बसोबास गर्दै आएका बस्तीहरूमा फेरि डोजर चलेको छ। शुक्रबार बिहानैदेखि काठमाडौं महानगरपालिकाले वडा नम्बर १४ अन्तर्गत बल्खु क्षेत्रमा संरचना हटाउने अभियान सुरु गरेको हो।

महानगरको टोलीसँगै सुरक्षाकर्मी र नगरप्रहरी परिचालन गरिएका छन्। डोजरले घर टहरा भत्काउँदै गर्दा कतिपय स्थानीयहरू आफ्नो सामान जोगाउन हतारिँदै ओसारपसार गरिरहेका देखिन्छन्, भने केही बासिन्दा आफ्नै आँखाअगाडि भत्किँदै गरेका घरहरू हेर्न बाध्य भएका छन्।

बल्खु मात्र होइन, वडा नम्बर ११ को वंशीघाट क्षेत्र पनि आजको अभियानको दायरामा परेको छ। प्रशासनका अनुसार वडा नम्बर १५ को स्वयम्भु, वडा नम्बर १६ को बालाजु, साथै वडा नम्बर ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडिपाखा र रानीबारी क्षेत्रका अतिक्रमित स्थानहरूमा पनि क्रमशः डोजर चलाइनेछ।

यसअघि नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै वैशाख १८ गते बिहान ७ बजेदेखि एकैपटक विभिन्न स्थानमा बस्ती खाली गराउने योजना सार्वजनिक गरेको थियो। नदी किनार तथा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरू हटाउने निर्णयलाई प्रशासनले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसँग जोडेको छ।

सरकारले माइकिङमार्फत सूचना दिन थालेपछि केही बासिन्दा बिहीबारदेखि नै बस्ती छाड्न थालेका थिए। यसअघि वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन भइसकेको थियो।

प्रकाशित मिति : २०८३ बैशाख १८ गते शुक्रवार
प्रतिक्रिया